Search This Blog

Monday, January 18, 2010

भूतघर पहिलो प्रेमको साक्षी

अक्सर गरेर ललिताको सपना देख्थें । नदेखेको दिन पनि बल गरेर देख्थें । म प्रेम गर्न थालेको थिएँ र हरबखत मेरो आँखाअगाडि स्ल्याक्स लगाएकी एउटी सुन्दर केटी हिँडिरहन्थी । अब कलेजमा लेक्चर सुन्न पनि सम्भव थिएन । मैले आफ्नो कानलाई एउटै शब्दमा ट्रेन्ड गरेको थिएँ- ललिता...। स्वप्नको कुनै हिसाब थिएन । लाग्थ्यो, सारा जीवन अब स्वप्न-स्वप्नमै बित्छ ।'

उमेरमा ६५ उकालो लागेका आख्यानकार ध्रुवचन्द्र गौतम अघिल्लो साता आफ्नो किशोरकाीलन प्रेमको यसरी सम्झना गर्दै थिए । पनौतीस्थित पुरातात्त्विक महत्त्वको 'मटां छे' मा वास बसेका बेला गौतमले आफू १६/१७ वर्षको छँदा बेहोरेको प्रेमको पहिलो झट्काको अनुभव बाँडिरहेका थिए । गौतमले उनको पछिल्लो कथा संग्रह 'पहिलो प्रेमको संस्मरण' मा पनि यही भोगाइ राखेका रहेछन् । फरक यत्ति कि पहिलो प्रेमिकाको नाममात्रै कथामा फेरिएको रहेछ, अरू कथानक सबै उही हो ।

सम्पदाप्रेमी रवीन्द्र पुरीले जीर्णोद्धार गरेको पनौती बजारको 'मटां छे' को अर्को नाम भूतघर पनि थियो । यो घरमा भूतले तर्साउने र केही भाडावाललाई भूतले चड्कन समेत हान्ने गरेको खबर फैलिएका कारण झन्डै तीन दशकदेखि खालीखाली रहेको भूतघरमा आख्यानकार गौतमसहितको टोली एक रात वास बस्न पुगेको थियो । त्यही अवसरमा गौतमको पहिलो प्रेमको भोगाइ सुन्ने र भर्खरै आएको कथा संग्रह 'पहिलो प्रेमको संस्मरण' को विमोचन गर्ने काम एकसाथ भयो । भूतघरका मालिक रवीन्द्र पुरीले पुस्तक विमोचन गरेका थिए ।

'खासमा २०२२ सालको वैशाखमा 'रूपरेखा' पत्रिकाले संस्मरण विशेषाङ्क निकालेको थियो, त्यसैमा आफ्नो पहिलो प्रेमको संस्मरण छाप्न दिएको थिएँ,' गौतम भन्दै थिए, 'यो मेरो आफ्नो जीवनको एउटा रसिक सम्झना पनि हो ।' हरेक वर्ष पुस्तक प्रकाशन गर्ने 'बस्र्याने लेखक' का रूपमा चिनिने मदन, साझा पुरस्कारका विजेता लेखक गौतमको विमोचित कथा संग्रह कृतिगत आधारमा ३७ औं थियो र कथा संग्रहमा छैटौं । भर्खरै संस्कृति मन्त्रालयले गौतमलाई

१ लाख रुपैयाँको राष्ट्रिय प्रतिभा पुरस्कार दिने भनी गरेको घोषणाले पनि गौतम प्रफुल्लित देखिन्थे ।

'म कनेर केही पनि लेख्दिनँ,' कथा र उपन्यासमा जोडिएका अनुभूति सुनाउँदै थिए उनी, 'एकाएक बिजुली चम्किएजस्तो गरी आउँछ सबै कुरा । एकछिनमा संसार उज्यालो हुन्छ र छिनभरमै अँध्यारो ।' यही अँध्यारो र उज्यालोको चक्रमा गौतमले अहिलेसम्म १ सय ७५ वटा कथा लेखेका रहेछन् । पछिल्लो संग्रहमा भने २०२२ सालमा रूपरेखामा छापिएको 'पहिलो प्रेमको संस्मरण' देखि २०६५ मा मधुपर्कमा छापिएको 'काल्पनिक' सम्म १५ वटा कथा समेटिएका रहेछन् । अर्किड बुक्सले निकालेको यो संग्रहको रोशन थापा 'नीरव' ले सम्पादन गरेका छन् ।

ध्रुवचन्द्रले गीत लेखेका छन्, रेडियोमा गीत गाएका छन् । नाटक लेखेका छन्, अरूका कथाहरूमाथि टेलिशृंखला बनाएका छन् । गोपाल गोतामेको 'झ्याउँकिरी', धच गोतामेको 'अँध्यारोमा हराएको छायाँ', बीपी कोइरालाको 'शत्रु', तारिणीप्रसाद कोइरालाको 'झ्यालकी केटी' लगायतका कथामा आफैं निर्देशक बनेर गौतमले टेलिफिल्म बनाएका छन् । 'अब भने कथा लेखन वा परिकल्पनाको कुरा अलिक कम गर्ने सोचाइमा छु,' बुधबार मध्यरातमा पुस्तक विमोचनपछि गौतम बोलिरहेका थिए, 'किनभने यति धेरै कथा लेखियो, तिनमाथि फिल्म बनाउने काम गरियो । कतै उही विषय दोहोरिएला कि भनेर पनि सानो कथाभन्दा ठूलो उपन्यासतिर लाग्नुपर्ने भएको छ ।'कान्तिपुर

No comments:

Post a Comment