Search This Blog

Monday, January 18, 2010

तस्बिरमा दस जीवन * प्रशान्त श्रेष्ठका पनौतीका तस्बिरहरू प्रदर्शनीमा

'उहाँ पनि मेरो हिरो' चिया पसल बाहिर उभिएका एक वृद्धलाई प्रशान्त देखाउँदै थिए । ती थिए, अनन्त मधिकर्मी, जसका कारण पनौतीले यो रूप पाएको छ । प|mेन्च कोअपरेसनसहितका संस्थाले पनौतीको विकासमा करोडौं लगानी गरेका थिए । पनौतीमा विकास भित्र्याउनेमध्ये एक ८४ वषर्ीय मधिकर्मी हुन् ।

मधिकर्मीजस्तै आफ्नै ठाउँका १० 'नायक नायिका' को जीवनशैली प्रशान्त श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् । उनले प्रायः भेटिरहने ती व्यक्तिका आआफ्नै विशेषता छन् । 'हेर्दा सामान्य लागे पनि उनीहरू पनौतीका लागि प्रतिनिधिमूलक छन्,' उनी भन्छन् । दुई सातापछि सुरु भएर एक महिनासम्म लाग्ने मकर मेलामा आयोजना गरिने फोटो प्रदर्शनीमार्फत् प्रशान्तले ती व्यक्ति सार्वजनिक गर्दैछन् ।

'उनीहरूले पनौती चिनाउनेछन्,' केही वर्षदेखि यी व्यक्तिको जीवनशैली फोटोमा उतार्न उनीहरूलाई पछ्याएका प्रशान्तले भने, 'पनौतीको विकासमा उनीहरूको योगदान खोतल्ने प्रयास गरेको छु ।' यसका लागि हजारौंले अवलोकन गर्ने उपयुक्त मौका मकर मेला रोजेको उनले बताए ।

प|mान्सेली पुरातत्वविद् गेरार्ड टोफाले पुस्तक लेखेर पनौतीलाई संसारभर चिनाएका थिए । त्यसै कारण विदेशी संघसंस्थाहरूको यहाँ ओइरो लाग्यो । तर, टोफालाई पुस्तक लेख्न सघाउने व्यक्ति थिए, मधिकर्मी । अर्का पात्र छन्, ७० वषर्ीय ग्वान्चा देउला, जसले अघिल्लो पुस्ताको माछा मार्ने चलनलाई निरन्तरता मात्र दिएनन्, जीवन नै यसैमा समर्पित गरे ।

तस्बिरमार्फत प्रदर्शनीमा आउन लागेका अर्का व्यक्ति हुन्, गणेशमान दुवाल । जो नौ बाजा बजाउने एक्ला हुन् । यो बाजा बजाउनसक्ने अरूले संसार छोडिसकेकाले उनी आफ्नो सीप अरूलाई हस्तान्तरण गर्न चाहन्छन् । त्यसैले ७१ वषर्ीय दुवाल युवा पुस्तालाई बाजा बजाउने तरिका सिकाउँदै छन् ।

पाकाहरू मात्र होइनन्, २९ वषर्ीय रीता ट्याटा पनि प्रशान्तको क्यामेरामा कैद भएकी छन् । स्वास्थ्यको ख्याल नगरी एक महिना निराहर व्रत बसेकी थिइन् उनी । व्रत बसेपछि राम्रो श्रीमान पाएर पारिवारिक जीवनमा बाँधिएकी उनी सबैको नजरमा परेकी भएर प्रशान्तले पछ्याएका हुन् ।

प्रशान्तले पछ्याएका अर्का व्यक्ति हुन्, लक्ष्मीनारायण कर्माचार्य, जसले जीवनभर निःशुल्क स्वास्थ्य सेवा गरेका थिए । 'कम्पाउन्डर' को रूपमा चिनिने यी मनकारी हेल्थ एसिस्टेन्ट हुन् । ७० वर्ष पुग्दा पनि उनले आफ्नै क्लिनिकबाट निःशुल्क औषधि र स्वास्थ्य सेवा दिइरहेका छन् । रुसमा पुस्तकप्रेम देखेर २०१२ सालमा पुस्तकालय खोल्ने ठाकुरभक्त कर्माचार्यदेखि भर्पाई आन्दोलनका अगुवा माधवनारायण पसछेंलाई पनि प्रशान्तले पनौती चिनाउने कडीका रूपमा प्रस्तुत गर्दैछन् ।

शिक्षासेवीको रूपमा चिनिएका भए पनि हरिसुन्दर सैंजूको 'फोटोग्राफर' रूप अब प्रशान्तको प्रदर्शनीमा देखिनेछ । नवौंपटक मकर मेला हेर्न प्रतीक्षारत वृद्धा धर्मकुमारी थापा पनि प्रशान्तको सूचीमा छन् । उनले १२ वर्षको उमेरमा पहिलोपल्ट मकरमेला हेरेकी थिइन् । अर्को रोचक पक्ष त प्रशान्तले आफ्नै परिवारको दुई विषेशतालाई प्रदर्शनीमा उतार्नेछन् ।

उनका बाजे नारायणदास श्रेष्ठ पहिले घटेरा थिए । 'कलघट्टे नारायण' भनेर चिनिने बाजे नारायणदास श्रेष्ठले घटेराको कामबाट परिवार संवृद्ध बनाएको र ३१ जनाको परिवारलाई एउटै भान्सामा खाना खुवाएको प्रसंग प्रदर्शनीमा देखिनेछ । दुई बाजेका ४ छोरा, ९ नाति र तीन पनाति एकै ठाउँ रहेको कथा आफैंमा अनौठो हुने उनको विश्वास छ ।

'देउता खोज्न टाढा जानु पर्दैन भने जस्तै हो यो,' उनले भने, 'त्यसैले मैले आफ्नै वरपरका जीवनशैली प्रस्तुत गर्न लागेको छु ।' अघिल्लो मकरमेलामा उनले एक जना दाजु पर्नेले दिएको यासिका क्यामराले खिचेका फोटो प्रदर्शनी गरेका थिए । 'त्यतिबेला अचम्मको सन्तुष्टि मिल्यो,' उनले सुनाए, 'त्यो क्यामेरा फिर्ता गरेपछि हात खाली भयो, फोटोग्राफीको लत छुटेन । त्यसैको उपज यो प्रदर्शनी सम्भव हुन लागेको हो ।'

पहिले 'हाम्रो पनौती, हाम्रो गौरव' शीर्षकमा प्रदर्शनी गरेका उनले योपल्ट 'तपाईं हामी अनि सबैको पनौती' शीर्षक दिँदैछन् । सबै जीवित व्यक्तिको कथा देखाउन खोजेका प्रशान्तले 'दिवंगत भएकाको कुरा उनीहरूका छोरा नातिसँग सोद्धा विश्वसनीय नहुने भएकाले' प्रदर्शनी गर्न लागेको बताए । कान्तिपुर

No comments:

Post a Comment