Search This Blog

Monday, January 18, 2010

सुन्दर पनौती पर्यटकको पर्खाइमा

पनौती पर्यटकको पर्खाइमा छ । पुराना कलाकृतिहरूले भरिएको पनौती सहर विश्वसम्पदा सूचीमा प्रस्तावित र नेपाल सरकारद्वारा घोषित स्मारक क्षेत्र पनि हो ।

पनौती बजारका कला-कौशलले भरिएका घर, मठ-मन्दिर, चारैतिरका हरियाली वनजंगल, गोरखनाथ, शारदादेवीस्थान, धनेश्वर, खोपासी जंगल, खोपासी फाँट आदि पर्यटकलाई आकषिर्त गर्न सक्ने सुन्दर सम्पत्ति हुन् । यहाँबाट नमोबुद्ध, लाँकुरी भञ्ज्याङ, कामीडाँडा, ढुंखर्क, बेथानचोक, नारायणस्थान, शिवगुफाजस्ता थुप्रै पर्यटकीय क्षेत्र पनि सजिलै पुग्न सकिन्छ । अझ यहाँ लाग्ने १२ वर्षे मकर मेला, धनेश्वर महादेवको मेला, गाईजात्रा, बेलविवाह, देवीनाच, स्वतकी पर्व, पनौती जात्रा, कृष्ण नारायण जात्रा, भीमसेन जात्रा, नवदुर्गा नाच, गठेमंगल आदि स्थानीय मेला तथा जात्राले समेत धेरै पर्यटकलाई लोभ्याउन सक्छन् । 'पनौतीभित्र जति सुन्दरता छ, त्यो सुन्दरताले धेरै पर्यटकलाई आकर्षण गर्न सकेको छैन, हामी सबै पर्यटक भित्र्याउन क्रियाशील छौं,' -पनौती पर्यटन विकास समितिका अध्यक्ष सुरेस सैजू भन्छन् । एउटै ढुंगामाथि रहेको र भूकम्प जाँदासमेत क्षति नहुने सहरका रूपमा परिचित पनौतीका सम्बन्धमा प्रचारप्रसार हुन नसक्नु, पर्यटकहरूलाई राख्ने उचित व्यवस्था नहुनु, पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारहरू नबन्नुजस्ता कारणले पर्यटकहरू यहाँ आउन नसकेको सैजूको ठम्याइ छ ।

पनौती पर्यटन सेवा समितिले पर्यटन सूचना केन्द्र खोलेर र होम स्टे कार्यक्रममार्फत पनौतीमा पर्यटकहरूलाई आकषिर्त गर्ने अभियान सुरु गरेको छ, तर धेरै पर्यटकलाई पनौतीमा राख्न सकेको छैन । जापान, इङ्ल्यान्ड, अमेरिका, जर्मनी, स्पेन, क्यानाडा, प|mान्स, स्वीजरल्यान्ड, कम्बोडियासहित २५ देशका १ हजारभन्दा बढी पर्यटक दुई महिनाको अवधिमा आए पनि अधिकांश पनौती क्षेत्र घुमेर फर्किए । समितिका अनुसार, तीमध्ये होम स्टे कार्यक्रमका लागि व्यवस्था गरिएको १६ घरमध्ये ६ घरमा १४ जना पर्यटक मात्र बसे । पनौती क्षेत्र पयर् टकहरूका लागि साइट सिनजस्तो मात्र भएको छ । 'साइट सिनका रूपमा मात्र होइन, पनौती क्षेत्रमा पर्यटकहरूलाई राखेर यसको ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्व अनुभव गराउने योजना छ,' -पर्यटन सेवा समितिका सचिव मुकुन्द सापकोटा भन्छन् ।

पर्यटकहरू यहाँ नबस्नुको कारण पनौती नगरपालिकाको बेवास्ता एवं पर्यटन व्यवसायीहरूले आवश्यक पूर्वाधार पूरा गर्न नसक्नु पनि हो । व्यवस्थित होटल, साइवर, यातायातका साधन, डिपार्टमेन्टल स्टोर आदिको अभाव तथा सहरको फोहोर व्यवस्थापन गर्न नसक्नुले पनि पनौतीमा पर्यटकहरू आउन नसकेको तर्क गर्दै अध्यक्ष सैंजू भन्छन्- 'पर्यटन समितिमार्फत हामी सबै पूर्वाधार विकासका लागि प्रयास गरिरहेका छौ, नत्र पनौती साइट सिन हेर्ने क्षेत्रमै सीमित हुनेछ ।'

राजधानी काठमाडौंबाट नजिकै ३२ किलोमिटरको दूरीमा रहेको काभ्रेको यो क्षेत्र अहिलेसम्म पनि पर्यटकहरूकै प्रतीक्षामा रहनु विडम्बनाको कुरा हो । सन् २०११ मा नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको योजनालाई सार्थक बनाउन पनौतीलाई पनि पर्यटक जानैपर्ने र बस्नेपर्ने ठाउँ बनाउनु आवश्यक छ ।
कान्तिपुर

No comments:

Post a Comment