Search This Blog

Saturday, February 20, 2010

पनौतीको प्रमाणित सबभन्दा पुरानो अंशुवर्माको अभिलेख

पनौती नगरपालिका, खोपासी मयलवोटमा रहेको लिच्छविकालीन( संवत:५२०) लिच्छवि लिपिमा लेखिएको यो शिलालेख नै हाल सम्म यहाँ पाइएका मध्यको पुरानो हो। सो शिलालेखको नेपाली अनुवाद पन्तिया अभिलेखमा प्रकाशित छ। सो अनुवाद यहाँ साभार गरिएको छ।


कल्याण होस्। मानगुह ( दरवार) अनगिन्ति गुणहरु भएका, लिच्छविकुललाई आनन्द दिने, गाथामा आराम रहेका, भट्टारक महाराज श्री शिवदेवबाट कुर्प्पासी गाउँ बस्ने मुखियालगायत गृहस्थीहरुलाई कुशलमङ्गल सोधेर आज्ञा भएको छ। आफ्ना गुणरुपी मणिका किरणको उज्यालोले अज्ञानरुपी अन्धकार हटाएका, भगवान् पशुपतिनाथको चरणकमललाई प्रमाण गर्न तत्पर रहेका हुनाले पछिका हित कल्याण गरेका, आफ्ना दुइ बाहुका बलले सारा शत्रुको जरो खनेका, यी श्रीमहासामन्त अंशुवर्माले हाम्रो हजुरमा बिन्ति चढाएर हाम्रो अनुमति लिई ( तिमीहरुको ग्राममा) सारा अधिकरण ( अड्डा अदालत)हरुले पस्न नपाउने गरी तिमीहरुलाई निगाह गरिएको छ। यो कुरा तिमीहरुलाई थाहा होस्। विचार पर्याउनु पर्ने मुद्दामामिलाहरु तिमीहरुको लागि एउटै मात्र द्वार ( ढोका‌‌- तलस्वामीहरुको ढोका) हुने छ।
द्वारोद् घाटन र कैलास-- यात्रामा तिमीहरुले जनैपिच्छे पचासवटा सेता जातका माटा (कमेरा) बुझाउनु। यो निगाह धेरै काल कायम रहोस् भन्नाका लागि यस निगाहको शिलापत्र गरि निगाह गरिदिइएको छ।
तसर्थ यस कुरालाई बुझेर हाम्रो निगाहबाट जीविका चलाउनेहरुले र अरु कसैले पनि यो निगाहलाई अन्यथा नगर्नु। जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला वा गराउला, स्थिति बन्देज नाघ्ने त्यसलाई हामी बिलकुल सहने छैनौं। पछि राजाहरुले पनि धर्मलाई ठूलो संझी अघिका राजाले गरेको निगाहको ख्याल राखेर यस आज्ञाको राम्रो सँग पालना गर्नु पर्छ भन्ने अनुरोध छ।
यहाँ दूतक देशवर्मा गोमी। संवत् ५२० चैत्रकृष्ण पञ्चमी।

No comments:

Post a Comment